काठमाडौं, २९ कात्तिक ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ‘थोत्रो पार्टी’ भएको बताएका छन् । धनकुटामा आयोजित कार्यक्रममा उनले आफ्नो दुई तिहाइको सरकार ढालेर कांग्रेसको पछि लागेको भन्दै तत्कालीन नेकपाका नेताहरूसँगसमेत आक्रोश पोखे ।
“नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो । नेपाली कांग्रेसको पछि लाग्ने कस्तो होलान् विचार गर्नुस् त । आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछि लागेर सरकारमा सामेल हुने कस्तो बुद्धि होला तिनीहरूको ?,” उनले भने ।
उनले एमाले प्रवेश गरेका नेताहरूलाई पछुताउने अवस्था नआउने समेत बताए । कार्यक्रममा ओलीले सहिदहरूको सपना एमालेले साकार पार्ने दाबी समेत गरे । मौका पाउने बित्तिकै एमालेले विकास गरेर देखाएको उनको दाबी छ ।
काँग्रेस महाधिवेशन : कास्कीमा मतदानको मिति र मतदानस्थल तोकियो
पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रूपमा खटिएका रामचन्द्र पौडेल (आरसी पौडेल) ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरूसँग बैठक गरी मतदानस्थल तोकिएको बताइन्छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको बैठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।
सभापति केसीका अनुसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ ।
बैठकले मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनका मतदानका लागि तालचोकस्थित शुभम् पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही शुभम् पार्टी प्यालेस र १(ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।
यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २ (क) को पोखरा बिरौटा र २(ख) को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।
उता, क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) का लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)का लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।