काठमाडौं, २९ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याएका हुन् ।
नेपालले कृषि क्षेत्रको रूपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनको भनाइ थियो ।
‘कृषि क्षेत्रमा रूपान्तरण गर्ने कुराबाट हामी विमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रूपान्तरण हो,’ नेपालले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यावसायिकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’
उनले कम्युनिष्ट पार्टीहरू किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताए । नेपालले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूल विषय भएको उल्लेख गरे ।
‘किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण छ । किनभने वामपन्थीहरूले कृषि क्रान्तिको जति महत्व बुझेका छन्, कम्युनिष्टहरूले यसको जुन महत्व बुझेका छन्, कम्युनिष्टहरूले किसानलाई जति महत्व दिने गर्दछन्,’ उनले भने, ‘यत्रो ठूलो संख्यामा फैलिएका किसानको मुक्तिको निम्ति कम्युनिष्टहरू नै लाग्ने गर्दछन् । त्यसो हुनाले हाम्रो शक्तिको आधार भनेको किसानहरू हुन् । किसानको हित र कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सुकुम्बासीहरूको समस्या समाधानमा सरकारले ध्यान पुर्याउनुपर्ने बताए । नेपालले अव्यवस्थित रूपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताए ।