काठमाडौं, २९ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलरत नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ न्यायाधीशलाई पत्र लेखेको छ।
आइतबार लेखेको पत्रमा बारले प्रधानन्यायाधीश राणाले न्यायालयको गरिमा धुलिसात पारेकाले उनीसँग इजलासमा नबस्न भनिएको छ।
बारका महासचिव लिलामणि पौडेलले लेखेको पत्रमा ‘समग्र न्यायापालिकाको गरिमा, जनआस्था धुलीसात पारेको र सबैको विश्वास गुमाएकाले राणाले तोकेको बेञ्चमा बसी सुनुवाइ नगर्नुहुन निर्णयानुसार हार्दिक अनुरोध गर्दछौं’, भनिएको छ।
बारको पत्र आएको भन्दै न्यायाधीशहरूले सोमबार सामूहिक छलफलमा केही दिन ‘पर्ख र हेर’को अवस्थामा जानुपर्ने राय दिएका थिए। तत्काल फुलकोर्ट बोलाउने र गोलाप्रथाबाट पेसी तोकेर मुद्दा सुनुवाइ गर्नुपर्ने पक्षमा केही न्यायाधीशहरू देखिएपछि बारले पत्र नै लेखेर आग्रह गरेको हो।
न्यायाधीशहरुले पत्र पाएपछि प्रधानन्यायाधीश राणाले सोमबार नेपाल बारलाई वार्ताका लागि आह्वान गरेका छन्। उनले न्यायालयको समस्या समाधानको माध्यम वार्ता भएको भन्दै वार्ताको आह्वान गरेपनि बारले भने त्यसलाई अस्वीकार गरेको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पहिलो शर्त प्रधानन्यायाधीश राणाको राजीनामा नै भएको बताए। कात्तिक ८ गतेदेखि सुरू भएको आन्दोलन तीन हप्तामा प्रवेश गर्दा बल्ल राणाले वार्ताको कुरा गरेको भन्दै कानुन व्यवसायीहरूले राणासँग वार्ता हुनै नसक्ने टिप्पणी गरेका छन्।