कालापानी र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुनुपर्छ : नेकपा एस

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेकपा एकीकृत समाजवादी पार्टीले दार्चुलाको कालापानी र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न सरकारसँग माग गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूले यस्तो माग गरेका हुन् ।

राष्ट्रिय जनगणनामा सही तथ्यांक दिएर सहभागिता जनाउन बैठकले सर्वसाधारणलाई आग्रह गर्दै कालापानी र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । ‘कालापानी र लिम्पियाधुरा क्षेत्रमा जनगणनाको व्यवस्था गर्न यो बैठक माग गर्दछ,’ प्रवक्ता जगन्नाथ खतिवडाले बैठकको निर्णय सुनाउँदै भने ।

पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यवृद्धि तत्काल फिर्ता लिन पनि पार्टीले सरकारसँग माग गरेको उनले जानकारी दिए । अहिले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू र सरोकारवालाबीच एकीकृत अवधारणा बनाउन पनि बैठकले अपिल गरेको उनले बताए ।

न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दल र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाको एकीकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता खतिवडाले बताए ।

बैठकले पार्टी कार्यकर्ताहरूलाई विपद जोखिम न्युनीकरणसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपदको बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाई परिचालन गर्न निर्देशन पनि दिएको उनले जानकारी दिए । हालै गठित पाँचदलीय गठबन्धन समन्वय समितिले सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई निर्वाचनसम्म लैजान यसले सशक्त भूमिका खेल्न पहलकदमी लिनेमा बैठकले विश्वास लिएको उनले बताए ।