ओखलढुंगामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, गम्भीर घाइते ४ जनालाई काठमाडौं ल्याइयो

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा बोलेरो जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

‘३ जनाको घटनास्थलमै मृत्यु भएको हो र एक जनालाई उपाचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भयो । ४ जना गम्भीर घाइतेलाई मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्द काफ्लेले लोकपथलाई बताए ।

अरु घाइतेहरु सामान्य रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको हो ।

पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

सुनसरी : सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी इँटा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ।

उक्त इटा भट्टाका कामदार भारतिय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो।

आइतवार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।