काठमाडौं, २८ कात्तिक ।
लमजुङ — मनाङमा लेक लागेर एक युवकको मृत्यु भएको छ । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि.) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।
तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्प (४,१५०मि.) मा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फिर्ता भएको थियो । उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।
करिब ६ घण्टाको बाटो खाङ्सार (३,७५६मि.) सम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले बताए ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली कात्तिक २१ गते काठमाडौंबाट हिँडेको थियो । उनका अनुसार यो घटना बिहीबारको हो । ‘लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएछन् । मनाङबाट हेलिकप्टरले उद्दार गरेको हो’ उनले भने, ‘उद्दार गरेर टिचिङमा लगेर उपचार थालेकोमा उनको निधन भएछ ।’
अहिले काठमाडौंदेखि बेंसीसहर–चामे–मनाङ हुँदै सिँधै खाङ्सारसम्म सवारीसाधन संचालनमा छ । विदेशी पर्यटक मनाङ गाउँ पुगेर १ दिन आराम गरी तिलिचो वा थोराङ्ला (५,४१६मि.) पासको यात्रा गर्छन् । नेपालहरू तल्लो क्षेत्रबाट सिधै हिमाली क्षेत्रमा जाने भएकाले एकैचोटी उचाइमा जाँदा लेक लाग्ने समस्या हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार हिमाली क्षेत्रको भ्रमण गर्नेले सावधानीपूर्वक यात्रा गरेमा यात्रा सहज हुन्छ ।