कैलाली, २८ कात्तिक ।
नेपालमा पनि अब कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप लगाइने भएको छ । यो खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाइनेछ । फाइजर–बायोएनटेक नेपालमा लगाउन थालिएको पाँचौं किसिमको खोप हो । यसअघि नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जेन्सनको खोप लगाइसकिएको छ । यी खोप नेपालमा सफल प्रयोग पनि भइसकेका छन् ।
हालसम्म नेपालमा कोभिशिल्ड र एस्ट्राजेनिकाको पहिलो चरणको खोप २९ लाख ४६ हजार ८९८ जनाले र दोस्रो डोज १७ लाख ७ हजार १०५ जनाले लगाएका छन् ।
त्यस्तै, भेरोसेलको पहिलो चरणमा ५८ लाख, ६४ हजार ४३४ र दोस्रो चरणमा ४२ लाख ६९ हजार ४३२ जनाले खोप लगाएका छन् । हालसम्म नेपालमा १५ लाख ४३ हजार ४९६ जनाले खोपको पूर्ण मात्रा पाएका छन् ।
नेपालमा पहिलोपटक कोभ्याक्सअन्तर्गत आएको फाइजर–बायोएनटेक खोपको प्रयोग बालबालिकालाई लक्षित गरेर ल्याइएको हो । यहाँ पहिलोपटक ल्याइए पनि यसअघि विश्वका १३२ देशमा यो खोप प्रयोग गरिसकिएको छ ।
फाइजर–बायोएनटेक खोपको प्रयोगका लागि स्वास्थ्य संगठनले ३१ डिसेम्बर २०२० मा नै अनुमति दिएको थियो । नेपालमा पनि यसको प्रयोगका लागि औषधि व्यवस्था विभागबाट २३ भदौ २०७८ मा अनुमति प्राप्त भएको थियो ।
पहिलो चरणअन्तर्गत यो खोपको पहिलो डोज २८ कात्तिकदेखि ४ मंसिरसम्म र दोस्रो डोज २७ मंसिरदेखि ४ पुससम्म दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि १७ सम्मका दीर्घ रोगी बालबालिकालाई लगाइन लागिएको हो ।
यो विगत खोपभन्दा फरक रहेको चिकित्सकले बताएका छन् । यसको एक भायल खोपले ६ जनासम्मलाई लगाउन मिल्छ । चिकित्सकले खेर जान नदिन ६ जना खोप लगाउने व्यक्ति नभएरै एक भाइल नखोल्न आग्रह गरेका छन् । यससम्बन्धमा जानकारी सम्बन्धित स्वास्थ्यकर्मीलाई दिइसकिएको डा. पौडेलले बताए ।
कुनकुन अस्पतालमा लगाइँदैछ फाइजर–बायोएनटेक खोप?
काठमाडौं उपत्यकामा यो खोपका लागि वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण छानिएको छ ।
यस्तै, प्रदेश १ को मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने मन्त्रालयले जनाएको छ । प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट फाइजर–बायोएनटेक खोप लगाइने छ ।
बागमतीको चितवनको भरतपुरस्थित बिपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट यो खोप कार्यक्रम सञ्चालन गरिने छ ।
गण्डकीमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट खोप लगाउन पाइने छ । लुम्बिनीमा, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल तथा कर्णालीमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट फाइजर–बायोएनटेक खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
फाइजर–बायोएनटेक खोप अन्यभन्दा किन फरक?
फाइजर–बायोएनटेक खोप नेपालमा लगाइएका अन्य चार खोप जस्तै दुई मात्रा लगाइन्छ । यो खोप भायलमा उपलब्ध हुन्छ । फाइजर–बायोएनटेक अन्यभन्दा फरक अवस्थामा पाइन्छ । यो खोप जमेको अवस्थामा बाक्लो झोलको रूपमा हुन्छ । यो सामान्य अवस्थामा सेतो र हल्का धमिलो रङको हुन्छ । यो खोपको भायलमा ६ मात्रा हुन्छ ।
फाइजर–बायोएनटेकलाई लगाउनुअघि घोलकलाई मिलाएर लगाउनुपर्छ । एउटा भायल घोल्नको लागि १.८ मिलिमिटर घोलकको आवश्यकता पर्छ । अन्य कोरोनाको खोप एक डोजमा ०.५ मिलिमिटर दिइन्थ्यो भने यो खोप भने ०.३ मिलिलिटर मात्र दिइन्छ ।
घोलनलाई घोल्नुअघि माइनस २ डिग्रीदेखि माइनस ८ डिग्री सेल्सियसको तापक्रममा कम्तिमा पनि १२ घण्टा स्टोर गर्नुपर्छ । तब मात्र घोलक भायलमा मिसाएर सुईको माध्यमद्वारा व्यक्तिलाई खोप दिइन्छ ।
फाइजर–बायोएनटेक कस्ता व्यक्तिले लगाउनु हुँदैन?
फाइजर–बायोएनटेक खोप लगाउनका लागि यसअघि कुनै पनि किसिमको कोभिड भ्याक्सिन नलगाएको हुनुपर्छ । यसका लागि खोप लगाउने व्यक्ति कम्तीमा पनि १२ वर्ष पार गरिसकेको हुनु पर्नेछ ।
यो खोपको पहिलो मात्रा लगाएपछि एलर्जी जस्ता अन्य प्रकारका लक्षण देखिए दोस्रो चरणको खोप लगाउनु हुँदैन । त्यस्तै, अन्य किसिमका संक्रमण भए उपचार गरेको ९० दिनपछि मात्र यो खोप लगाउनुपर्ने हुन्छ । यो खोप कोभिड–१९ संक्रमण भएको अवस्थामा लगाउनु हुँदैन ।
कोभिडको संक्रमण नेगेटिभ आएको ३० दिनपछि मात्र यो खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरो तथा गम्भीर रोग लागेको बेला पनि यो खोप लगाउनु हुँदैन ।
‘लक्षण देखिए आत्तिनु पदैन’
यो खोप लगाइसकेपछि विभिन्न किसिमको अवाच्छित लक्षण देखिनसक्ने चिकित्सकले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार खोप लगाएपछि ज्वरो आउने, बिबरा आउने, शरीरमा डाबर आउने, अनुहार सुन्निने, पखाला लाग्ने, वान्ता हुने सुई लगाएको हात दुख्ने जस्ता लक्षण देखिन सक्छन् । यस्ता लक्षण दुई/तीन दिनभित्र आफैँ ठीक हुने खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिए ।
‘यस किसिमका लक्षणहरू देखिएमा आत्तिनु पर्दैन । ज्वरो आएमा सिटामोल प्रयोग गर्दा हुन्छ । हात दुखेमा दुई/तीन दिनमा आफैँ सञ्चो हुन्छ । बिबिरा देखिएमा एन्टी एलर्जी खाँदा ठीक हुन्छ,’ उनले भने । साभार : फरकधार