विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै, कसले मार्ला बाजी ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

एजेन्सी:= विश्वकप टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ ।

सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड तथा पाकिस्तानलाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन्। दुबै टोली पहिलो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जित्ने अभियानमा रहेका छन् । फाइनल खेललाई अष्ट्रेलियाको बलियो ब्याटिङ लाइन विरुद्ध न्युजिल्याण्डको कसिलो बलीङको भिडन्तको रुपमा हेरिएको छ ।

सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो ।

सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तानसँग पराजित न्युजिल्यान्डले भारत, स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानलाई हराएको थियो ।

सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो । न्युजिल्यान्डका विकेट किपर डेभोन कोन्वे हातको समस्याले आजको खेल खेल्ने छैनन् । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।