इक्वेडरको जेलमा कैदीहरुबीच झडप हुँदा ६८ जनाको मृत्यु, स्थिति तनाबग्रस्त !

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

एजेन्सी । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच भएको झडपमा कम्तिमा ६८ जना मारिएका छन् । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ ।

गत सेप्टेम्बरमा सय जनाको ज्यान गएको जेलमा फेरि झडप भएको हो । गुयाछिल शहरमा रहेको जेलमा झडप हुँदा कैदीहरुको मृत्यु भएको हो । झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विष्फोटक पदार्थ र बन्दुह भारी मात्रामा फेला पारेको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।

कतिपय कैदीहरु टाउको छिनालिएको अवस्थामा फेला परेको सुरक्षाकर्मीहरुले बताएका छन् । यसै महिनाको शुरुमा पनि सोही जेलमा झडप हुँदा तीन जना कैदीको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । मेक्सिकोका माफिया समूह र तस्करहरुको प्रभाव जेलमा बढेकाले बारम्बार झडप भईरहेको इक्वेडरका अधिकारीहरुको भनाइ छ ।

तर, माफिया समूहले इक्वेडरका जेलमा मात्रै नभई ठूलो क्षेत्रमा समेत कब्जा जमाईसकेको बीबीसीले जनाएको छ । इक्वेडरमा बढेको माफिया समूहको प्रभाव घटाउन दशक भन्दा बढी लाग्ने र छिमेकी कोलम्विया, अमेरिका र युरोपेली युनियनले सहयोग गर्नुपर्ने अवस्था रहेको छ ।

राष्ट्रपतिद्वय बाइडेन र सिबीच भच्र्युअल बैठक तय

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीचको भच्र्युअल बैठक वासिंगटन समयअनुसार सोमबार साँझ हुने घोषणा गरेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पेस्कीले भनेकी छन् – ‘गत ९ सेप्टेम्बरको टेलिफोन वार्तापछि यी दुई नेताबीच यो बैठक हुन लागेको हो । यस बैठकमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धालाई उत्तरदायी ढंगले व्यवस्थापन गर्ने तथा दुवैका हित हुने पक्षहरूमा सहकार्य गर्नेबारे छलफल हुने भएको छ । बाइडेनले अमेरिकाको सोचाइ र प्राथमिकताहरू स्पष्ट पार्नुका साथै चीनसँगको असहजताबारे पनि खुल्ला रुपमा चिन्ता व्यक्त गर्नेछन् ।’

हालै मात्र चीन र अमेरिकाले स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप २६ सम्मेलनका दौडान जलवायु परिवर्तन नियन्त्रण सम्बन्धमा सहकार्य गर्ने ऐतिहासिक घोषणा गरेका थिए ।