काठमाडौं ।
मलेसियास्थित नेपाली दूतावासले मलेसियाको रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएपछि त्यसैलाई आधार बनाएर ‘वैदेशिक रोजगारीका लागि मलेसिया खुल्यो’ भन्दै प्रचार भइरहेको छ ।
दूतावासको शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा सबैजसोले सोही विषयमा जिज्ञासा राखेका थिए । जवाफमा श्रम सहचारी प्रकाश पन्थीले मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण सुचारु नभएको भन्दै सामाजिक सञ्जालले दिएका सुचना र समाचारलाई विश्वास नगरी दूतावासको आधिकारिक सूचना पर्खिन आग्रह गरेको छ ।
कोरोना भाइरस महामारीका कारण मलेसियाले नेपालीसहित विदेशी कामदारको प्रवेशमा लगाएको प्रतिबन्ध हटाइएको बताएपछि लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुला भएको आंकलन गरिएको थियोे ।
कतिपयले आगामी जनवरीदेखि नयाँ डिमाण्ड आउने बताउने गरेका छन् । तर मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदारको माग आउने बारे मलेसियाको सरकारी संयन्त्रबाट हालसम्म केही जानकारी नदिइएको भन्दै त्यसबारे तत्काल केही भन्न नसकिने बताएको छ ।
दूतावासले यसअघि नै नयाँ मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरू भए तत्कालैदेखि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० मार्फत वैदेशिक रोजगार व्यवसायीहरूलाई जानकारी दिइने बताएको छ ।