मलेसिया खुलेको छैन सामाजिक सन्जालका सूचनाले भ्रम फैलायो : दूतावास

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ कात्तिक ।

रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएपछि त्यसैलाई आधार बनाएर ‘वैदेशिक रोजगारीका लागि मलेसिया खुल्यो’ भन्दै प्रचार भइरहेको छ ।

दूतावासको शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा सबैजसोले सोही विषयमा जिज्ञासा राखेका थिए । जवाफमा श्रम सहचारी प्रकाश पन्थीले मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण सुचारु नभएको भन्दै सामाजिक सञ्जालले दिएका सुचना र समाचारलाई विश्वास नगरी दूतावासको आधिकारिक सूचना पर्खिन आग्रह गरे ।

कोरोना भाइरस महामारीका कारण मलेसियाले नेपालीसहित विदेशी कामदारको प्रवेशमा लगाएको प्रतिबन्ध हटाइएको बताएपछि लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुला भएको आंकलन गरिएको थियोे । कतिपयले आगामी जनवरीदेखि नयाँ डिमाण्ड आउने बताउने गरेका छन् । तर मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदारको माग आउने बारे मलेसियाको सरकारी संयन्त्रबाट हालसम्म केही जानकारी नदिइएको भन्दै त्यसबारे तत्काल केही भन्न नसकिने बताएको छ ।

दूतावासले यसअघि नै नयाँ मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरू भए तत्कालैदेखि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत वैदेशिक रोजगार व्यवसायीहरूलाई जानकारी दिइने बताएको छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा हाल एक लाख ८० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् । मागपत्र प्रमाणीकरण शुरू भएमा पहिलो वर्ष ठूलो संख्यामा कामदार जाने अपेक्षा गरिएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

यसैबीच मलेसियाको मानव संशाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो)लाई कामदारहरूको योगदानको भुक्तानी नदिने रोजगारदाताहरूका बारेमा छानविनका लागि आदेश दिएको छ । मलेसियाली मानव संशाधन मन्त्री एम. सरावननले सोक्सोलाई छिट्टै समस्या समाधान गर्ने गरी जाँच गर्न आदेश दिएको बताएका छन् ।

मलेसियामा २ हजार पाँच सयभन्दा बढी रोजगारदाताहरुले श्रमिकहरुको योगदानबापतको भुक्तानी नदिएको अनुमान छ । मन्त्री सरावननले भुक्तानी नदिने रोजगारदाताहरूलाई आर्थिक जरिवाना नभई अधिकतम जेल सजाय हुनुपर्ने माग गरेका छन् । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।