प्रभु साहले माधव नेपाल माथि लगाए यस्तो आरोप !

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ कात्तिक ।

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन् ।

शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै साहले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरु आपसमा मिलेर चुनाव लडेको र जनताले समेत विजयी बनाएर सत्ता सुम्पिएको बताए । माधव नेपालले जनताको सो मतविपरीत कम्युनिस्ट आन्दोलनलाई धोका दिँदै शेरबहादुर देउवासँग मिलेर सरकार बनाएको उनको आरोप थियो ।

कुनै बेला राजाको पाउमा दाम चढाएका नेता नेपालले अहिले देउवाको पाउमा दाम चढाएको साहको टिप्पणी थियो । माधव नेपाल कम्युनिस्ट आन्दोलनकै कलंक भएको भन्दै उनले कलंकलाई पखालेर फाल्नुपर्ने बताए । कार्यक्रममा एमाले प्रवक्ता प्रदीप ज्ञवाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश २ का सह–ईन्चार्ज अच्युत मैनालीलगायतका नेता सहभागी थिए ।

एमाले महाधिवेशनका लागि रोल्पाबाट सात प्रतिनिधि सर्वसम्मत चयन

रुपन्देही । नेकपा एमालेको महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट रोल्पा जिल्लाले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको छ । रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाका अनुसार सात जना प्रतिनिधि छनौट सर्वसम्मत चयन भएका हुन् । आकांक्षी धेरै भएपनि सबैलाई चित्त बुझाएर सर्वसम्मत बनाइएको उनले बताए ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार वली चयन भएको जिल्ला अध्यक्ष बुढाले जानकारी दिए ।