काठमाडौं, २६ कात्तिक ।
काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । कोरोना सङ्क्रमण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् ।
कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ । कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।
महामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।
नेपाल वायुसेवा निगमद्वारा चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता
काठमाडौँ | नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।
न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहज हुने निगमले जनाएको छ । साथै निगमलाई थप आयआर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ ।
निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ । निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।