शम्भु थापाको प्रश्न- मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश?

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ कात्तिक ।

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अब प्रधानन्यायाधीश नरहेको टिप्पणी गरेका छन्। उनले राणाको बहिर्गमन भइसकेको बताएका छन्।

शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रममा बोल्दै उनले सर्वोच्चको मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुने भन्दै प्रश्न गरे।

कानुन व्यवसायीले राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउनेगरि धर्ना दिएपछि उनी महान्यायाधिवक्ताको कार्यालयको बाटो हुँदै ‘वैकल्पिक मार्ग’ प्रयोग गरेर सर्वोच्च छिरेका थिए। कानुन व्यवासायीको आन्दोलन भने जारी छ।

‘तपाईंको बहिर्गमन भइसकेको छ। अब प्रहरीलाई चारैतिर घेरा हालेर भित्र छिरेर प्रधानन्यायाधीश रहुनु भएन। मूल गेटबाट छिर्न नसक्ने प्रधानन्यायाधीश हुँदैन’, थापाले भने, ‘अब गंगाजल छर्कने कुरा छैन। न्यायको चीरहरण समाप्त गर्न र पैसामा हुने खरिद बिक्री रोक्न हाम्रो आन्दोलन जारी छ। हामी यतिमै रोकिने छैनौं।’

उनले प्रधानन्याधीशलाई न्याय दिने अधिकार रहेको तर किनबेच गर्ने अधिकार नरहेको बताए। बेञ्च गठनदेखि आदेश र फैसलामा किनबेच भइरहेको थापाको टिप्पणी छ। ‘हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। दलहरु अब बोल्नुस्। भ्रष्ट प्रधानन्यायाधीश चाहिन्छ कि स्वच्छ? अब बोल्नुपर्छ’, थापाले भने। नेपाल लाइभ