काठमाडौं, २६ कात्तिक ।
काठमाडौं– विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ। कानुन विपरित कतिपय सञ्चार माध्यमले चाडबाडको समयमा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गरेको भन्दै विज्ञापन बोर्डले आपत्ती जनाएको हो।
जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन एने २०७६ विपरीत मदिरा तथा सूतिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन बोर्डको निर्देशन छ। मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन रहेका होडिङ बोर्ड समेत तत्काल हटाउन निर्देशन दिइएको छ।
बोर्डका प्रशासकीय अधिकृत दिलिपकुमार महर्जनले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विज्ञापन र होर्डिङ नहटाए कारबाही गर्ने चेतावनी दिएका छन्।
जनस्वास्थ्य सेवा एनेले मदिरा, चुरोट, सूर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने उल्लेख गरिएको छ। विज्ञापन ऐनमा पनि प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने उल्लेख छ।