ओलीबारे धेरै शब्द खर्चिनु पर्ने अवस्था छैन, उनलाई समयले ठेगान लगाइसक्योः नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

मोरङ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रवेश गर्नेहरुको लहरबाट अन्य दल अत्तालिएको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार साँझ पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष नेपालले मुलुकभर समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेको बताएका हुन्।

समाजवादीमा प्रवेशका लागि लहर बढेसँगै अन्य दलका नेता आत्तिएको उनको भनाइ थियो। पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद चाँडै समाधान हुनेमा विश्वास्त रहेको बताए।

उनले भने, ‘हाल अदालतको विषयमा उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा अग्रसर रहनुभएको छ। त्यो विषयले चाँडै निकास पाउने छ। प्रधानमन्त्रीले विवाद हलका लागि पहल गरिरहनुभएको होला।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको न्यायाधीशले राजीनामा दिनुपर्ने अभिव्यक्तितर्फ संकेत गर्दै अध्यक्ष नेपालले सबै पत्रकार, अधिवक्ता, न्यायाधीशले राजीनामा दिनुपर्ने अवस्था नहुनेमा जोड दिएका थिए।

ओलीका विषयमा आफूले धेरै भनिरहनु नपर्ने बताउँदै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउनु पर्ने आवश्यक्तै छैन। आफै ठेगान लागि सकेकालाई के ठेगान लगाउनु? उहाँलाई समय परिस्थितिले ठेगान लगाइसकेको छ। उहाँको बारे मैले धेरै शब्द खर्चिनुपर्ने अवस्था छैन।’