विदेश जाने टिकट काट्नको लागि अब खोप लगाएको विद्युतीय प्रमाणपत्र अनिवार्य

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ । खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ ।

अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ । आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।

परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ ।

आवेदन भरिसकेपछि तपाईँको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृति अस्वीकृति हुन्छ । आफ्नो आवेदनको अवस्था बारेमा पनि अनलाइनबाटै बुझ्न सकिन्छ । आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नपर्छ ।

आवेदन स्वीकृति भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । आवेदन अस्वीकृति भएमा विवरण सच्चाएर फेरि पेस गर्न सकिन्छ । आवेदन दिएको धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिन्छ ।

विद्युतीय माध्यमबाट प्राप्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन । प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट किन्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।