काठमाडौं, २४ कात्तिक ।
काठमाडौं । चालू आर्थिक वर्षको चौथो महिना चलिरहदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैविच विकास बैंक समूहबाट हालसम्म पाँच कम्पनीहरुले गत वर्षको लाभांश सार्वजनिक गरेका छन् ।
सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले गत वर्षको लाभांश सार्वजनिक गरिसकेका हुन् । हाल धितोपत्र दोस्रो बजारमा १६ विकास बैंकहरु सूचीकृत रहेका छन् ।
लाभांश सार्वजनिक गरेका विकास बैंक समूहतर्फका पाँच कम्पनीहरुमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले भने कात्तिक १६ गते वार्षिक साधारण सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको छ । सांग्रिला डेभलपमेण्ट बैंकले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद वितरण गर्न लागेको हो ।
त्यस्तै मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ४ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
हालसम्म सार्वजनिक पाँच विकास बैंकको लाभांशमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा बढी छ । कामना सेवा विकास बैंकले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले कात्तिक २३ गते पारित गर्दैछ । हाल कामना सेवा विकास बैंकको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
यस वर्ष लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले यस वर्ष १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।