काठमाडौं, २४ कात्तिक ।
भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १६ सदस्य टोलीको घोषणा गरेको छ । भर्खरै टि–२० अन्तर्राष्ट्रियबाट भारतीय टोलीको कप्तानी छाडेका विराट कोहलीलाई विश्राम दिइएको छ । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
वेन्कटेस अय्यर, हर्षल पटेल र आवेश खान टोलीमा अटाउँदा टि–२० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र जसप्रित बुमराह पनि टोलीमा छैनन् । दिपक चाहर, युजवेन्द्र चाहल, मोहम्मद सिराज लगायतले टोलीमा पुनरागमन गरेका छन् ।
भारतले न्युजिल्यान्डसँग दुई टेस्ट सिरिज पनि खेल्ने छ । त्यसैले उसले टि–२० सिरिजमा आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको हो । टि–२० सिरिजको पहिलो खेल नोभेम्बर १७ मा जयपुर र दोस्रो खेल नोभेम्बर १९ मा राँची र तेस्रो तथा अन्तिम खेल नोभेम्बर २१ मा कोलकतामा हुनेछ ।
भारतको टोली : रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किशन, वेंकटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज ।
टी-२० विश्व कप क्रिकेटमा आज इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान ज्यासन रोयले विश्व कपका खेल गुमाएका छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाएका हुन् । यस्तै,अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया खेल्ने छन् । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।
पाकिस्तान समूह १ को विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।