भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने संकेत गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् ।

“कतिपय साथीहरूले महाधिवेशनमा तपाईं केमा उठ्नुहुन्छ भनेर सोध्नुहुन्छ । मैले तपाईंहरू जेमा उठ्न भन्नुहुन्छ म त्यसैमा उठ्छु भन्ने गरेको छु । तपाईंहरूको पनि केही छ भने भन्नुहोस्,” उनले सम्बोधनका क्रममा भने ।

त्यसपछि कार्यक्रममा सहभागीहरूले एकै स्वरमा ‘अध्यक्ष’ भनेका थिए । त्यसपछि रावलले ‘प्रस्ताव नै रहेछ’ भन्ने जवाफ फर्काए । चुनावमा हारजित स्वाभाविक भएको भन्दै उनले आफू त्यसलाई स्वीकार्न तयार रहेको बताए ।

“मैले यत्रो वर्ष काम गरेको छु । जनताको र कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ । त्यो जे गर्दा बलियो हुन्छ म त्यसका लागि कत्ति नहिचकिचाइ उच्च मनोबलका साथ अघि बढ्छु । कतिपयले हार्‍यो भने के गर्ने ? भन्नुहुन्छ । अनि चुनावमा लडेपछि नहार्ने को छर ? केपी ओलीले हरेका थिएनन् र, आठौँ महाधिवेशनमा,” उनले भने ।

उनले आठौँ महाधिवेशनमा ओली पराजित भएको प्रसंग पनि उल्लेख गरे । उनले आफू र ओली एउटै प्यानलमा हुँदा आोफूहरू पराजित भएको स्मरण गरेका थिए ।