आफ्नो कप्तानीमा अन्तिम पटक देशलाई जित दिलाएपछि भावुक हुदै बिराटले दिए यस्तो प्रतिक्रया !

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

काठमाडौं– यूएईमा जारी आईसीसी टी-२० विश्वकप भारतका लागि सोचे अनुरूप रहन सकेन । उसले ५ म्याच खेल्दा सुरुवातका दुई खेलमा लगातार हार बेहोर्‍यो ।

पाकिस्तान र न्यूजिल्याण्डसँगको हारले सेमिफाइनल पुग्ने भारतको सम्भावना कमजोर रह्यो । अन्ततः ऊ विश्वकपबाट बाहिरियो । यद्यपि अन्तिम तीन खेलमा भने भारतले लगतार जित हात पार्‍यो ।

विराट कोहलीको लागि टी–२० मा कप्तानको रूपमा यो अन्तिम विश्वकप थियो । उनले सोमबार नामिबियाविरुद्ध अन्तिमपटक कप्तानी गरे । विराटको अन्तिम कप्तानीमा भारत ९ विकेटले विजयी भएको छ ।

आफ्नो अन्तिम कप्तानीमा टिमले शानदार जित निकालेपछि कोहलीले प्रतिक्रिया दिएका छन् । उनले टी–२० प्रारूपको कप्तानी छाड्दा आफूमा दबाब कम भएको प्रतिक्रिया दिएका हुन् ।

‘कप्तानी छोडेपछि मैलो राहत महसुस गरेको छु । मलाई लाग्छ कि कार्यभार व्यवस्थापन गर्ने सही समय आएको छ । ६/७ वर्षभरी जिम्मेवारीले गर्दा धेरै दबाब थियो । यो अवधिमा धेरै प्रतिभाहरूसँग हामीले एउटा टिमको रूपमा राम्रो प्रदर्शन गर्यौँ,’ उनले म्याच सकिएपछि स्टारस्पोर्ट्ससँगको कुराकानीमा भने ।

विश्वकप २०२१ मा आफूहरूले सोचेको नतिजा नआएको पनि बताए । उनले पहिलो दुई खेलमा आक्रामक क्रिकेट खेल्न सकेको भए ‘जे पनि हुने थियो’ भनेर पनि बताए ।
‘हामीले नतिजा दिन सकेनौं । तर, केही राम्रो क्रिकेट खेल्न सकेका छौँ । जसरी पछिल्लो तीनवटा खेल हामीले खेल्यौं, खेलाडीहरूले मेरो काम धेरै सजिलो बनाए,’ विराटले भने, ‘टी-२० क्रिकेट अन्तरको खेल हो । पहिलो दुई खेलमा माथिल्लो क्रमले दुई ओभर मात्र आक्रामक क्रिकेट खेल्न सकेको भए कुरा अर्कै हुन्थ्यो । हामीले बहादुर भएर उक्त दुई खेलमा एउटा समूहको रूपमा खेल्न सकेनौं ।’

लामो समय भारतीय टिमको मुख्इ प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका रवि शास्त्रीलाई पनि धन्यवाद दिए । ‘सबैप्रति आभारी छु । (रभी शास्त्री र सहयोगी स्टाफ) जसले लामो समयसम्म खेलाडीलाई वातावरण बनाउन ठूलो काम गरेका छन् । उनीहरूको यो समयमा कडा मिहिनेत गरेका छन् ।’

विराट प्रायः मैदानमा आक्रामक देखिन्छन् । कप्तानी छोड्दै गर्दै उनले यो कुराबारे पनि प्रतिक्रिया दिएका छन् । उनले मैदान गर्ने आफ्नो स्वभाव कहिले पनि परिवर्तन नहुने प्रतिक्रिया दिएका हुन् ।

‘मेरो आक्रमकता कहिले पनि परिवर्तन हुने छैन । जुन दिन त्यो सकिन्छ, म क्रिकेट खेल्न छोड्नेछु । कप्तान हुनुभन्दा अघि पनि म कुनै पनि किसिमले योगदान दिन चाहन्थे । म उभिएर एकै स्थानमा शान्त भएर बस्न सक्दिन,’ कोहलीले भने ।

विराट प्रायः ब्याटिङमा तेस्रो नम्बरमा आउँछन् । तर, विश्वकपको आफ्नो अन्तिम खेलमा उनले तेस्रो नम्बरमा सूर्यकुमारलाई ब्याटिङ गर्न पठाए । यसबारे पनि कोहलीले प्रतिक्रिया दिएका छन् ।

‘यो टी–२० विश्वकप हो । र, यसमा सूर्यले धेरै समय पाएनन् । त्यसैले यो उनको लागि फिर्ता लैजान सुन्दर यादहरू हुनेछ । एउटा युवा खेलाडीको रूपमा तपाई विश्वकपबाट सुन्दर यादहरू लिएर जान चाहनुहुन्छ । त्यसैले उनलाई मौका दिनु पछाडिको कारण त्यही हो,’ उनले भने ।