लाइसेन्सको आवेदन खुलाएको १० दिनमै यति धेरैले दिए आवेदन, कहिले आउँछ पालो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

काठमाडौं : यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुलाएको १० दिनमै साढे चार लाख बढीको आवेदन परेको छ । विभागले गत कार्तिक ९ गतेदेखि देशैभर अनलाइन आवेदन खुलाएको थियो । सोही दिनदेखि २२ गते बिहानसम्म चार लाख ४४ हजार जनाले अनलाइन आवेदन दिएका हुन ।

लाइसेन्स आवेदन खुलेपनि विभागको साइटमा पटक पटक समस्या आइरहेको छ । कम क्षमताको सर्भरका कारण एकैपटक लाखौंले आनलाइन आवेदन साइटमा छिर्न खोजेपनि अझैपनि विभागले साइटको सर्भरलाई अपग्रेड गर्न सकेको छैन ।

हालसम्म विभागको अनलाइन आवेदन साइटमा १५ लाख जना सेवाग्राही एकैचोटी छिर्ने प्रयास गरेका थिए । सेवाग्राहीको चाप थेग्न नसकेपछि अनलाइन मात्रै नभई विभागका सबै साइट डाउन भएका थिए ।

साइटमा समस्याका बावजुतपनि नयाँ लाइसेन्सका लागी फारम भरेका सेवाग्राहीको प्रयोगात्मक परिक्षा ६ देखि १० महिनाको बीचमा आउने गरेको छ । त्यस्तै पुराना लिखित दिएर बसेका तथा प्रयोगात्मक परिक्षा दिनमात्रै बाँकी रहेका सेवाग्राहीको चाप पनि आधा मात्रै घटेको विभागको भनाई छ ।

लाइसेन्स आवेदन खुलसँगै यातयात कार्यालय तथा ट्रायल सेन्टरमा भिडभाड बढेको छ भने अर्को तर्फ आवेदन दिएर मोटरसाइकल, गाडीलगायतका सवारी सिक्नेको पनि ड्राइभिङ सेन्टरमा चाँप बढेको छ ।

विभागले हाल ट्रायल पास गर्नेलाई परिक्षणकालिन क्युआर कोड लाइसेन्स दिने गरेको छ । स्मार्ट लाइसेन्स भने विभागसँग नभएको कारण लाइसेन्स प्रिन्ट भएको छैन ।