एक हप्तामा सरकार ढाल्न सक्छौँ : ओली

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्न चाहेमा एमालेले एक हप्तामै ढालिदिन सक्ने बताएका छन्। विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘पञ्चमुखी’को संज्ञा दिए । पाँचतिर फर्किएजस्तो उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने उनको दाबी छ ।

अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका दुई शीर्ष नेताको एमसिसीबारे बुझाइ नै फरक र झुटो आएको भन्दै कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न पत्र पठाएको भनिरहँदा अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्र नपठाएको अभिव्यक्ति दिएको भन्दै उनले कसले झुट बोलिरहेको हो पत्ता लगाउनुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले आज बागमती प्रदेश सभामा विश्वासको मत लिएका हुन ।

संसदमा पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । सरकारलाई बहुमत जुटाउनको लागि ५५ मत भए पर्याप्त हुन्छ । विश्वासको मतको लागि मतदान हुँदा १०४ मत खसेको थियो । खसेको मध्ये दुई मत भने तटस्थ रहेका छन ।

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद रिता माझी र रिना गुरुङ तथा एमालेका दुई सांसद गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहे । बागमती प्रदेश प्रतिनिधि सभामा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले सरकार बनाएको हो ।

बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ । बागमती प्रदेशमा एमाले (सभामुखसहित) ४३ सदस्य छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।