काठमाडौं, २२ कात्तिक ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। साेमबार सिन्धुलीकाे कमलामाईमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अबको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रनुपर्नेमा उनको जोड थियो।
‘पार्टीको १४औँ महाधिवेशनको भोलिपल्टै हामी चारतारे झन्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होइन,’ उनले भने।
विगतमा गठबन्धनको केही प्रयास भए पनि सफल नभएको बताउँदै उनले भने, ‘हामीले पाएको मत भनेको ३१ लाख हो। पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ। हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरूको लागि एउटा विचार हो।’
थापाले फरक प्रसंगमा अदालतमा देखिएको समस्यालगाायतका विषयमा कांग्रेसको भूमिका स्पष्ट हुनुपर्ने पनि बताए। उनले भने, ‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छन्।’
पार्टी विभाजनपछि पहिलोपटक राजनीतिक गतिविधिमा देखिए झलनाथ
पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल पार्टी विभाजनपछि पहिलोपटक राजनीतिक गतिविधिमा देखिएका छन् । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन हुँदा उनी स्वास्थ्य उपचारका लागि दिल्लीमा थिए ।
उनले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत दिएका थिए । उपचारपछि निको भएर उनी पहिलोपटक पार्टीको काममा फर्किएका हुन् । खनाल पार्टी केन्द्रीय कार्यालय बुद्धनगर पुगेर तीन घण्टा विदेश विभागको पहिलो बैठकमा सहभागी भए । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उनले दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म पार्टी कार्यालयमा बिताएका थिए ।
एकीकृत समाजवादीको विदेश विभाग प्रमुख खनालले विभागका सदस्यहरुसँग आगामी कामबारे छलफल गर्नुका साथै पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका थिए ।