प्रधानमन्त्री देउवाको फेसबुक पेजको दुरुपयोग

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ कात्तिक ।

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेजको दुरुपयोग भएको छ। उनको फेसबुक पेजमा असम्बन्धित फोटो पोस्ट भएको हो। ‘शेरबहादुर देउवा’को ‘भेरिफाइड’ फेसबुक पेजमा अर्कै व्यक्तिको फोटो पोस्ट भएको हो। फोटोको क्याप्सनको रुपमा ‘इन्फ्रन्ट अफ दी सेख प्यालेस दुबइ’ लेखिएको छ। सो पोस्ट भने अहिले हटाइएको छ।

प्रधानमन्त्री देउवाले निजी सचिवालय गठन गरेका छैनन्। सामान्यता सामाजिक सञ्जालका यस्ता अकाउन्ट व्यक्तिगत रुपमा वा सचिवालयका सीमित व्यक्तिहरुले चलाउने गरेको पाइन्छ। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्टबाट पनि पटकपटक यस्तै असान्दर्भिक पोस्टहरु हुने गरेको थियो। नेपाल लाइभ

एमालेले जारी गर्‍यो महाधिवेशन केन्द्रित निर्देशन

काठमाडौं– नेकपा एमालेले १०औँ महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन जारी गरेको छ । एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन–१४ जारी गरेका हुन् ।

निर्देशनमा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिइएको छ ।

आउँदो २७ कात्तिकसम्म मुलुकभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशिताका आधारमा १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।