जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई-दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ? यसबारे धेरैमा चासो पाइन्छ ।

जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ?

थापाथलीस्थित परोपकार म्याटरनिटी तथा महिला अस्पताल – प्रसूति गृह)का निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ ।

सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ । जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।

डा. जागेश्वर गौतमका अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्बि्रओको रूपमा विकसित हुने गर्छ ।

यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल -एउटै अनुहार भएका छोरा-छोरा वा छोरी-छोरी हुने गर्दछ । जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।

डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशिक संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।