काठमाडौं, २२ कात्तिक ।
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर आउने भएका छन्। पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर आउने भएका हुन्।
पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट यति एयरको जहाज चढेर सोमबार बिहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले (मोरङ) ले जानकारी दिएको छ।
यस क्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता/कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।
एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जनाभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने उनको दाबी छ।
बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य
बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । जिल्लाका ८४ वडामा पनि पुरुषले नै नेतृत्व सम्हालेका छन् ।
दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए । उनले भने, “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ ।”
हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् । यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन् ।
यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्ने छ । प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ । एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।