काठमाडौं, २१ कात्तिक ।
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमिगत रहेका बेला छोरीलाई बेलायत पढाउने खर्च कसरी जुट्यो भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति स्रोतमाथि प्रश्न गरेका छन्।
काठमाडौँमा आइतबार भएको कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईकी छोरीको बेलायत पढाइबारे प्रश्न गरेका हुन्।
उनले भने, ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौँ। बाबुरामका छोराछोरीले भिसा पाउँथे। कसरी होला? के जादु होला त्यसमा? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन। कुन पासपोर्टबाट जानुभएको थियो? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस्?’
ओलीले थपे, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा? कहाँको आम्दानीले?’
आफूलाई भने प्रहरी रेकर्ड खराब रहेकाले पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले बताए। उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर २०४८ मा सांसद भएपछि हो। प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब थिएन होला र?’ सञ्चार संवाददाता
प्रचण्ड-बाबुराम युरोप घुमेकोमा ओली आश्चर्यचकित
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि जनयुध्दका बेला युरोप घुमेको आरोप लगाउनुभएको छ ।
“भूमिगत क्रान्तिकारी नेतालाई युरोप घुम्न कसरी सम्भव भयो ?”- ओलीले प्रश्न पनि गर्नुभयो । पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको भन्दै ओलीले प्रचण्ड-बाबुरामको रेकर्ड खराब नभएकोमा आश्चर्य प्रकट गर्नुभयो ।
‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । तर त्यतिबेला प्रचण्ड,बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो’, उहाँले भन्नुभयो ।
ओलीले डा. भट्टराईले आफ्ना छोरी विदेशमा पढाएको भन्दै कमाइको स्रोत के हो भनेर पनि प्रश्न गर्नुभयो । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा,जहाँ कम से कम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’