काठमाडौं, २१ कात्तिक ।
प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट करिब साढे १२ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। शनिबार राति चाँगुनारायण नगरपालिका- ८ सुडालपुरीबाट १२ लाख ४३ हजार सात सय ८० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
स्थानीय मणिराम पुरीको घरमा जुवा तासको खेल भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा केही राजनीतिक दलका कार्यकर्ता र पत्रकारसमेत छन् । उनीहरुमाथि थप अनुसन्धानसहित कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।