टी-२० विश्वकप : भारतको भविष्य अफगानिस्तानको हातमा ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २० कात्तिक ।

स्कटल्यान्डमाथि ठूलो जित निकालेसँगै भारतले सेमिफाइनल यात्रा बलियो बनाएको छ, तर अझै पनि अफगानिस्तानमाथि निर्भर हुनुपर्नेछ। सुपर-१२ का खेलअन्तर्गत गएराति स्कटल्यान्डलाई ६.३ ओभरमै आठ विकेटले पराजित गरेको भारतले रनरेट सुधारेको छ। यो जितसँगै भारत समूह-२ को तेस्रो स्थानमा उक्लिएको छ।

यो समूहमा पाकिस्तान चार खेल जित्दै आठ अंकसहित शीर्षस्थानमा छ। त्यस्तै, न्यूजिल्यान्ड चार खेलमा तीन जित र एक हारसँगै ६ अंकसहित दोस्रो स्थानमा छ। चार खेलमा दुई जित र दुई हार ब्यहोरेको अफगानिस्तान चार अंकसहित चौथो स्थानमा छ।

अब सुपर-१२ को अन्तिम खेलमा भारत सोमबार नामिबियासँग भिड्नेछ। तर, त्यसअघि आइतबार हुने अफगानिस्तान र न्यूजिल्यान्डको खेलले भारतको यात्रा यत गर्नेछ।

अफगानिस्तानले जितेमा भारतको सेमिफाइनल सम्भावना जिवितै रहनेछ। त्यस्तोमा अफगानिस्तानको ६ अंक हुनेछ भने न्यूजिल्यान्डको ६ अंक नै भए पनि रनरेट कम हुनेछ। अहिले पनि न्यूजिल्यान्डको भन्दा अफगानिस्तानको रनरेट राम्रो छ।

न्यूजिल्यान्डलाई अफगानिस्तानले पराजित गरेमा अन्तिम खेलमा नामिबियालाई पराजित गर्दै भारतको सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ। त्यतिवेला भारत, अफगानिस्तान र न्यूजिल्यान्डमध्ये राम्रो रनरेट भएको टोली सेमिफाइनल पुग्नेछ।

भारतको रनरेट अहिले पनि न्यूजिल्यान्ड र अफगानिस्तानभन्दा राम्रो छ। अहिले भारतको १.६, अफगानिस्तानको १.४ र न्यूजिल्यान्डको १.२ रनरेट रहेको छ।

तर, आइतबार हुने खेलमा अफगानिस्तान पराजित भएमा न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ। जितसँगै न्यूजिल्यान्डको अंक आठ हुनेछ। यस्तो वेला भारतले अन्तिम खेल जिते पनि ६ अंक मात्रै हुनेछ।

समूह-१ बाट भने आज हुने खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। इग्ल्यान्ड चार खेलमा जित हासिल गर्दै आठ अंकसहित शीर्षस्थानमा छ।

यो समूहबाट श्रीलंका, वेस्ट इन्डिज र बाङ्लादेश बाहिरिसकेका छन्। आज सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलिया वेस्ट इन्डिजसँग भिड्दै छ भने दक्षिण अफ्रिकका इग्ल्यान्डसँग भिड्दै छ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई सेमिफाइनल पुग्नका लागि जित्नै पर्नेछ। दुवै टोलीलाई जितले पनि पुग्दैन, राम्रो रनरेट निकाल्नुपर्छ। अहिले इग्ल्यान्डको ३.२, अस्ट्रेलियाको १.१ र दक्षिण अफ्रिकाको ०.७ रनरेट रहेको छ।