विदेश जाने नेपालीको हकमा नयाँ मापदण्ड लागू,अब यस्ता ब्यातिहरुमात्र जान पाउनेछन ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २० कात्तिक ।

काठमाडौं- नेपाल सरकारले अध्यागमन कार्यविधि संशोधन गर्दै विदेश जाने नेपाली नागरिकको खर्च व्यवस्थापनको हकमा नयाँ मापदण्ड तोकेको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) परिवर्तित गरेको हो।

परिवर्तित व्यवस्थाअनुसार यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण पेश गर्नुपर्ने छ।

यस्तै, खाडी मुलक, सार्क राष्ट्र, मलेशिया, थाइल्याण्डको हकमा न्यूनतम २ सय ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण पेश गर्नुपर्छ। माथि उल्लेख गरिएका बाहेक अन्य मुलुकको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ।

अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) पछि देहाय बमोजिम खण्ड (घ१) थप्नेसमेत निर्णय भएको छ। खण्ड (घ१) मा दफा ३.१ को उपदफा (२) को खण्ड (घ) बमोजिमको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भइ अनिवार्य आयस्रोत खुलाउने व्यवस्था थप गरिएको छ।