आज गाईगोरु पूजा : गाईलाई किन पूजा गरिन्छ ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

आज तिहारको अर्को महत्वपूर्ण दिन अर्थात् यमपञ्चकको म्हपूजा र गाईगोरु पूजा गरी मनाउने दिन । नेपाललगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । भगवान् श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।

आजको दिन, श्रीकृष्णले आफ्नो औँलाले उठाएको त्यही गोवद्र्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवद्र्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवद्र्धन पर्वतको प्रतिकका रुपमा पुज्ने चलन रही आएको छ ।

गोवद्र्धननका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।

गाईलाई किन पूजा गरिन्छ ?

गाईलाई हिन्दु धर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने बताइन्छ । तर के तपाईँले कहिल्यै गाईलाई किन पूजा गरिएको छ भन्ने बारेमा सोच्नुभएको छ ? यदि छैन भने आज हामी गाईलाई किन पुज्छौँ भन्ने बारेमा जानकारी दिनेछौँ ।

गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान् विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।

गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान् कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अस्तर नाग बस्ने गर्दछन् । गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको बास हुने गर्दछ ।

सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ । सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।