अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता !

रामेछाप खबर संवाददाता

काठमाण्डौ ।

राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो ।

अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो ।

‘अत्यावश्यक काम जस्तै भिसा आइसकेको छ तर पासपोर्टको म्याद सकिएको अवस्थामा, पासपोर्ट हराएमा, वा तत्काल विदेश उपचार गर्न जानु पर्ने छ तर पासपोर्ट छैन भने त्यस्तो अवस्थामा मात्र द्रुत रूपमा एमआरपी पासपोर्ट बनाउनुहोस् तर अत्यावश्यक नभएमा केही समय कुरेर र्ई–पासपोर्ट नै लिनुहोस्,’ निर्देशक शरद राजले भन्नुभयो,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’

ई – पासपोर्टको परीक्षण नोभेम्बर १५ मा राहदानी विभागमा हुनेछ । त्यो परीक्षण सफल भएमा राहदानी विभागले ई–पासपोर्ट जारी गर्न थाल्ने छ । विभागले ई–पासपोर्ट जारी गर्न थालेपछि पहिलो चरणमा धेरै पासपोर्ट जारी हुने र सुगमका केही जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी गर्ने तयारी रहेको विभाग निर्देशक शरद राजले बताउनुभयो ।

उहाँका अनुसार अबको एक महिना भित्र राहदानी विभागबाट ई–पासपोर्ट जारी हुनेछ भने डेढ महिनाभित्र केही जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी हुन्छ । बिस्तारै सबै जिल्लाबाट ई–पासपोर्ट जारी हुनेछ । तर ई–पासपोर्ट जारी हुन थालेपछि जुन जिल्लाबाट ई–पासपोर्ट जारी हुन्छ ती जिल्लाबाट एमआरपी पासपोर्ट जारी हुने छैन ।

के हो ई–पासपोर्ट
हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो ।

विश्वका १२० भन्दा बढी देशहरूले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिने निर्देशक शरद राजले जानकारी दिनुभयो ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फम्र्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ
ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ । ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन ।