साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ कात्तिक ।

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो ।

सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ६८ रन र ओपनर पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । जीतका लागि १९० रन पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमा समेटिएपछि श्रीलंकाले यो सान्तवना जीत निकाल्न सफल भएको हो ।

हिजै सम्पन्न अर्को खेलमा भने अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटको सानदार जीत निकाल्दै सेमिफाइनमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।

समूह एकमा रहेका श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश भने अब समूह चरणबाट बाहिरिसकेका छन् । आजको पहिलो खेल न्युजिल्याण्ड र नामिबियाबीच दिउँसो ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल भारत र स्कटल्याण्डबीच साँझ ७.४५ बजे हुँदैछ ।-

सेमिफाइनलका विषयमा भारतीय टिमभित्र छलफल भएको छैनः रविचन्द्रन आश्‍विन

काठमाडौँ- यसपालीको टी–ट्‍वान्टी विश्‍वकप भारतका लागि सोचे अनुसारको हुन सकेको छैन । सुपर १२ मा दुई खेल हारेको भारत समूह २ को चौथो स्थानमा छ । बुधबार अफगानिस्तानलाई हराएपछि अंकको खाता खोलेको भारतले समूह चरणमा अब दुई खेल खेल्न बाँकी छ । सेमिफाइनल प्रवेशका लागि भारतले ती दुवै खेलमा जित हासिल गर्नुपर्नेछ ।

पहिलो संस्करणको टी–ट्वान्टी विश्वकपको जितेको भारतलाई यसपाली पनि उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर सुपर १२ मा पाकिस्तान र न्युजिल्यान्डसँग हारेपछि भारतको अबको प्राथमिक लक्ष्य भनेको सेमिफाइनल नै हो । यद्यपि भारतीय टिमभित्र भने सेमिफाइनलका विषयमा कुरा नभएको बताउछन्, रविचन्द्रन आश्‍विन ।

‘सेमिफाइनलका विषयमा हामीबीच कुनै छलफल भएको छैन । हामी बाँकी खेलमा केन्द्रित छौँ । सबैको मस्तिष्कमा बाँकी दुई खेलमा कसरी राम्रो प्रदर्शन गर्ने भन्ने नै छ । सेमिफाइनलबारे साचिसकेको छैनौँ । अनि यो हाम्रो हातमा पनि छैन ।,’ शुक्रबार हुने स्कटल्यान्डसँगको खेलअघि आश्‍विनले भने ।

भारतको समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । भारतका लागि भने सेमिफाइनल यात्रा कठिन छ । भारतीय टिमले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न स्कटल्यान्ड र नामिबियालाई हराएर मात्रै पुग्दैन । भारत सेमिफाइनल पुग्नका लागि अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनु पर्नेछ । अनि रनरेटको कुरा त छँदैछ ।

‘हामी अचम्मको अवस्थामा छौँ । हाम्रो सेमिफाइनल भविष्य अब अफगानिस्तानको प्रदर्शनमा निर्भर छ । अफगानिस्तानले यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । न्युजिल्यान्डविरुद्धको खेलमा अफगानी खेलाडीहरूले बलियो खेल देखाउँछन् भन्‍ने आशा छ ।,’ आश्‍विनले भने ।