दीपवालीमा भारतीयलाई राहत, घट्यो पेट्रोल र डिजेलको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ कात्तिक ।

दीपावलीको अवसरमा भारतमा आमनागरिकलाई राहत दिने गरी पेट्रोल र डिजेलको मूल्य घटाइएको छ। केन्द्र सरकारले इन्धनमा ‘सेन्ट्रल एक्साइज ड्युटी’ मा कटौतीको घोषणा गरेको छ। जसबाट भारतमा पेट्रोलको मूल्य ५ रुपैयाँ घटेको छ भने डिजेलको मूल्य १० रुपैयाँ कम भएको छ।

बितेका कयौँ दिनदेखि भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको थियो। देशका अधिकांश राज्यमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघेको थियो। केन्द्रीय गृहमन्त्री अमित शाह यसबारेमा ट्विट गर्दै अन्तर्राष्ट्रियस्तरमा बढेको मूल्यबीच पनि दिइएको यो राहतलाई धेरै संवेदनशील निर्णय भनेका छन्। यसका लागि उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्।

पेट्रोलियम कम्पनी इन्डियन यल कर्पोरेसनका अनुसार देशको राजधानी दिल्लीमा बिहीबार पेट्रोल १०३ रुपैयाँ ९७ पैसामा विक्री भयो। मुम्बईमा १०९ रुपैयाँ ९८ पैसा प्रतिलिटरमा पेट्रोल विक्री भएको थियो।

कोलकातामा पेट्रोलको मूल्य १०४ रुपैयाँ ६७ पैसा र चेन्नईमा १०१ रुपैयाँ ४० पैसा प्रतिलिटर कायम भएको छ। केन्द्र सरकारले पेट्रोल, डिजेलमा उत्पादन शुल्क घटाउने कदमबीच कयौँ राज्यमा यी पदार्थमाथि अतिरिक्त छुट पनि घोषणा गरिएको छ।