चिनियाँ विदेशमन्त्री वाङ यी र ओलीबीचको भेटवार्ता सम्पन्न, केके बिषयमा भयो छलफल ?

रामेछाप खबर संवाददाता

१३ चैत, काठमाडौं ।

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा करीब एक घण्टा चिनियाँ प्रतिनिधिमण्डल र एमालेका नेताहरूसहित छलफल भएको थियो । छलफलमा दुई देशको सम्बन्ध र हितका विषयमा कुरा भएको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटमा चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)सँग सम्बन्धित नेपालले प्रस्ताव गरेको योजना कार्यान्वयनको विषयमा एमाले अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले बताए ।

नेपालमा रोड, रेल्वे, सिँचाइ, जलविद्युत, शिक्षा र स्वाथ्य क्षेत्रसँग जोडिएका परियोजनामा चीनले गरेको सहयोगको लागि धन्यवाद दिँदै ती क्षेत्रका परियोजना चाँडो सम्पन्न गराउने बारेमा ओलीले वाङ यीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए ।

त्यसबाहेक, चीनतर्फका नाका सुचारू गराउने, चीनमा अध्ययन गरिरहेका तर कोरोना महामारीका बेला नेपाल आएका विद्यार्थीलाई चीन लगेर अध्ययन नियमित गराउने लगायत विषयमा ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिएका छन् ।

त्यसबाहेक चीनको सहयोगबाट समृद्ध नेपाल, सुखी नेपाली बनाउने योजना कार्यान्वयनमा मद्दत मिल्ने भएकाले चिनियाँ सहयोग बढाउने बारेमा वाङ यीको ध्यानाकर्षण गराइएको उनले बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने अल्पकालीन र दीर्घकालीन योजनालाई सोहीअनुसार प्राथमिकता दिएर कार्यान्वयनमा ध्यान दिने बताएको भट्टराईले जानकारी दिए । भेटवार्तामा हिमालयन मल्टिडाइमेन्सनल रणनीति कार्यान्वयनको सन्दर्भमा पनि कुरा भएको बताइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनको सम्बन्ध सधैं सुमधुर रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

‘छिमेकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्दा नेपाल र चीनको जस्तो हुनुपर्छ भन्ने उदारहण बनेको छ । यसलाई निरन्तरता दिन चाहन्छौं,’ वाङ यीको भनाइ उद्धृत गर्दै भट्टराईले भने । बीआरआईअन्तर्गत नेपालले प्रस्ताव गरेका योजनाको कार्यान्वयनलाई प्राथमिकता दिने वाङले ओलीसँगको भेटमा बताएका थिए ।