बक्स अफिसमा फिल्म ‘आरआरआर’ को आंधी, कति कमायो ?

रामेछाप खबर संवाददाता

१२ चैत, काठमाडौं ।

भारतीय फिल्म ‘आरआरआर’ ले विश्वभर उत्कृष्ट ओपनिङ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन विश्वभर २५७ करोडको व्यापार गरेर नयाँ किर्तिमान कायम गरेको छ । यो कुनै पनि भारतीय फिल्मले अहिलेसम्म गरेको सबैभन्दा ठूलो ओपनिङ डे कलेक्सन हो । भारतमा बाहेक विदेशमा पनि ‘आरआरआर’ ले राम्रो कमाई गरेको छ । अष्ट्रेलियामा यस फिल्मले हलिउडको ‘ब्याटम्यान’को पहिलो दिनको कमाईलाई पनि उछिनेको छ ।

फिल्मले विदेशमा ७८ करोड रुपैयाँ कमाएको छ । ५५० करोडभन्दा बढीको बजेटमा बनेको यो फिल्मले पहिलो दिन भारतमा मात्र १५६ करोडको कमाई गरेको छ । यस फिल्मले भारतको आन्ध्र प्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोडको ओपनिङ गरेको छ, यो कुनै एक राज्यको हिसाबले पनि रेकर्ड कलेक्शन हो ।

एसएस राजामौलीले निर्देशन गरेको यस फिल्मले उनकै ‘बाहुबली’ को रेकर्डलाई पनि तोडेको छ । बहुबाली-२ ले पहिलो दिन २१७ करोड कमाएको थियो । त्यसै अनुसार ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ ।

त्यस्तै रामचरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट स्टारर फिल्मले पहिलो दिन आन्ध्र प्रदेश र तमिल राज्यबाट १२०.१९ करोड, कर्नाटकबाट १६.४८ करोड, तमिलनाडुबाट १२.७३ करोड र केरलाबाट ४.३६ करोड कमाएको छ । यसबाहेक फिल्मले देशका अन्य राज्यबाट २५.१४ करोड कलेक्सन गरेको छ । योसँगै फिल्मको ओभरसिज कलेक्सन ७८.२५ करोड रहेको छ । रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन २५ करोडको व्यापार गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शले पहिलो दिनको कलेक्शनको मामिलामा ‘आरआरआर’ ले अस्ट्रेलियाको ‘ब्याटम्यान’लाई उछिन्दै नम्बर-१ स्थान हासिल गरेको उल्लेख गरेका छन् । ‘आरआरआर’ ले अष्ट्रेलियामा पहिलो दिन ४.०३ करोड कमाएको छ । त्यस्तै फिल्मले ओपनिङ दिनमा बेलायतमा २ करोड ४० लाखभन्दा बढी कलेक्सन गरेको छ ।

यसबाहेक फिल्मले पहिलो दिन अमेरिकामा २४ करोड र क्यानडामा २ करोड कमाएको छ । सोही अनुसार फिल्मले उत्तरी अमेरिका अर्थात् अमेरिका र क्यानडाबाट मात्र २६ करोडभन्दा बढी कमाएको छ । योसँगै फिल्मले बिहीबारको प्रिभ्यु र पहिलो दिनको कलेक्सनसहित अमेरिकामा ३८ करोडभन्दा बढीको व्यापार गरेको छ । खरीबोट