रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु

रामेछाप खबर संवाददाता

२५ फागुन, काठमाडौं ।

युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ । राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।

विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए । सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लो पटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए ।

यो पनि….युक्रेनकाे आवासीय क्षेत्रमा रुसी बम विस्फोटः ३ बालबालिकासहित २२ जनाको मृत्यु

रुसले गरेको हवाई आक्रमणमा परी युक्रेनको सुमी सहरमा २२ जना सर्वसाधारणको मृत्यु भएको छ। सुमी क्षेत्रका गभर्नर डिमित्रो जिवित्स्कीले सोमबार रुसले गरेको हवाई आक्रमणमा ३ बालबालिकासहित २२ जनाको मृत्यु भएको बीबीसीलाई बताएका हुन्।

रुसी आक्रमणकारी सहरको उत्तर–पूर्वी आवासीय क्षेत्रमा बम खसालेर आम हत्या गरेको गभर्नर जिवित्स्कीले आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उनीहरुले रातको समयमा बस्तीमा तीनवटा बम खसाले… त्रसित रात थियो त्यो।’

आक्रमणमा एकै घरका नौ जना मारिएका छन्। ६ वटा घर पूर्ण रुपमा भत्किएका छन्। अरु २० घरमा आंशिक क्षति भएको छ। सुमी सहरमा बमबारी अस्थायी रुपमा रोकिएपछि करिब पाँच हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।