पल शाहले दिए गैंडाकोटमा सरकारी वकिल समक्ष बयान

रामेछाप खबर संवाददाता

२५ फागुन, काठमाडौं ।

फाईल तस्विर।
किशोरीलाई बलात्कार गरेको आरोपमा कलाकार पल शाहले गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका छन् । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।

अभिनेता शाहलाई अनुसन्धानका लागि यसअघि नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेको थियो ।

सोही आधारमा मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने छ ।

जिल्ला अदालत तनहुँमा थएिको म्यादभित्रै यहाँको पनि अनुसन्धान सक्ने गरि प्रहरीले काम थालेको छ । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । शाह विरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा बलात्कारको मुद्दा दर्ता गराउने किशोरी एउटै भएको प्रहरीको भनाइ छ ।