नेपाली क्रिकेटलाई सहयोग गर्न नेपाल आएको हुँ : अफ्रिदी

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ असोज ।

काठमाडौं- पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले नेपाली क्रिकेटलाई सहयोग गर्न आएको बताएका छन्। चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न आइपुगेका उनले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो उपस्थितिले केही सहयोग पुगोस् भन्ने मान्यताले नेपाल आएको प्रतिकृया दिएका हुन्।

‘क्रिकेटकै कारण म नेपालमा आएको हुँ। नेपालको क्रिकेट पछिल्लो समय राम्रो अवस्थामा छ। मेरो उपस्थितिले केही सहयोग पुगोस् भन्ने मेरो मान्यता हो,’ उनले भने। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्दै छन्। ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौंविरुद्ध खेल्नेछ। उनले आफू नेपाल आउन पाउँदा धेरै खुशी रहेको प्रतिकृयासमेत दिएका छन्।

‘मलाई विश्वास गर्नुस् म धेरै धेरै खुशी छु। म पाकिस्तानमा छु जस्तो अनुभव गरिरहेको छु, घरमा छु जस्तो लागेको छ,’ उनले भने।
अफ्रिदी नेपाल आएका सर्वाधिक ठूला नामका अलराउन्डर हुन्। ४१ वर्षिय अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन्। उनले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन्।

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए। ओडिआईमा ८ शतक र ३९ अर्धशतकसहित कूल ८ हजार ६४ रन बनाएका छन्।

उनले ओडिआईमा ३ सय ९५ विकेट लिएका छन्। टि२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले टि२० मा १ हजार ४ सय १६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन्।

ओडिआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। जुन खेलमा अफ्रिदी ओडिआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए। उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए।

२००९ को टि२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। २००७ को टि२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन्। अफ्रिदीसँग झन्डै दुई दर्जन टि२० लिगको अनुभव छ।