मलेसियामा दुई बर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

रामेछाप खबर संवाददाता

क्वालालम्पुर, २४ फागुन ।

मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो ।

कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो । विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।

यो पनि…..मलेसियामा गैरकानूनी रुपमा बसेका १६ नेपालीसहित ८६ विदेशी कामदार पक्राउ

मलेसियामा गैरकानूनी रुपमा बसेका १६ जना नेपाली कामदार पक्राउ परेका छन् । जोहरबारू क्षेत्रमा गैरकानूनी रूपमा बसेका विदेशी कामदारविरूद्ध गरिएको धरपकडमा नेपालीसहित ८६ जना विदेशी कामदार पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मलेसियाको प्रहरीले जोहरबारूको सेनाई औद्योगिक क्षेत्रमा गैरकानूनी कामदारविरुद्ध आइतबार रातिदेखि अपरेसन शुरू गरेकोे बताइएको छ । मलेसियामा प्रहरीले विगत एक महिनादेखि गैरकानूनी हैसियतले बसेका आप्रवासी कामदारका बारेमा निगरानी गरेकोे पनि स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पक्राउ परेकालाई थप कारबाहीका लागि स्थानीय सेतिया ट्रोपीको अध्यागमन कार्यालयमा राखिएको बताइएको छ ।