दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट, काठमाण्डौबाट पानीसहित हेलिकप्टर पुग्दै

रामेछाप खबर संवाददाता

२२ फागुन, काठमाडौं ।

तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सिम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ । यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उहाँले जानकारी दिनुभयो ।

यो पनि….बैतडीमा बजार अनुगमन

संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो ।

जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य बजारका १६ गरी २४ व्यापारीलाई जरिवाना गरिएको हो । उनीहरुवाट रु ९० हजार जरिवाना असुल र रु ४५ हजार मूल्यबराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक अनुगमन गर्दा सचेत गराउँछौँ । दोस्रोपटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइए जरिवाना गर्ने गरेका छौँ ।”

अनुगमन टोलीले सात पसलबाट खाद्यवस्तुको नमूनासमेत लिइएको छ । अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमूना सङ्कलन गरिएको हो । उक्त सङ्कलित नमूना परीक्षणका खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्किए जरिवाना गरिने कार्यालयले जनाएको छ ।

सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्री वितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसअघि गौरा र दशैँतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा रु दुई लाख ५० हजार मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।