कसरी पस्यो अस्पतालको उपचार कक्षभित्र भालु, सबैजना भए अचाम्बित !

रामेछाप खबर संवाददाता

२० फागुन, काठमाडौं ।

जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए । सुरुमा कुुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन् ।

अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरुको अनुमान छ । ढोका थुनेपछि भालुले बाहिर निस्कने प्रयास गरिरहेको छ । भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ ।

डिभिजनल वन कार्यालयका प्रमुख विरेन्द्र शाहका अनुसार भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको छ । ‘उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको छ,’ शाहले भने, ‘रातको समयमा ढोका खोलिदिए आफ्नो बासस्थानमा आफैं पनि जानसक्छ । यदि नगएको खण्डमा चितवन वा काठमाडौंबाट प्राविधिक टोली झिकाउनु पर्ने हुनसक्छ ।’ प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकाल्न सक्ने उनले जानकारी दिए । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु झरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको अनुमान छ ।

यो पनि…आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो ।

दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।”

नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उहाँले भन्नुभयो, “अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी कामदारको दुर्घटना बीमा गर्छाैं, यसले त्यहाँ काम गर्ने कामदार दुर्घटना परे पनि सहयोग मिल्नेछ ।”

रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।” यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्दै आएको छ ।