दुखद खबर: मलेसियाबाट एकैदिन यति धेरै नेपालीको शव र अस्तु ल्याइयो !

रामेछाप खबर संवाददाता

काठमाडौं, २ असोज ।

मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले मलेसियामा मृत्यु भएकाहरूको शव र अस्तु नेपाल ल्याइएको हो ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन समस्या भएको थियो । जनउद्धार समितिको पहलमा यसअघि पनि धेरै शव नेपाल पठाइएको छ ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाहरूका लागि आर्थिक सहयोग संकलन गरेर शव नेपाल पठाउने व्यवस्था मिलाइएको बताए ।

शव नेपाल पठाइएकामध्ये एकजना १९ वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । लमजुङको दुधपोखरी गाउँपालिका ६ का गोविन्दकुमार थापाको नेपाल फर्किने क्रममा विमानस्थलमै अकस्मात् बेहोस भएर ढलेर मृत्यु भएको थियो ।

सन् २००२ मा मलेसिया गएर उनी सम्पर्कविहीन भएका थिए । लामो समयदेखि गैरकानुनी रूपमा बस्दै आएका उनको शव नेपाल ल्याउन निकै झन्झट भएको थियो ।

मलेसियामा कम्पनी छाडेर भाग्ने नेपाली कामदारको संख्या बढ्न थाल्यो !

मलेसियामा रोजगारदाता छाडेर भाग्ने नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाली कामदारलाई ललाई फकाई कम्पनी परिवर्तन गराउने क्रम दैनिकरूपमा पुनः बढेको विभिन्न स्रोतले बताएका छन् ।

कोरोना भाइरस संक्रमणको समयमा रोजगारदाताले समयमा तलब नदिने, विभिन्न बहानामा तलब काट्ने, तलब माग्दा मानसिक तनाव दिने जस्ता समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।

कतिपय कामदार रोजगारदाताको विभेद सहन नसकेर बाध्यताले कम्पनी छाडेर भाग्ने तर धेरैजसो कामदार विचौलियाहरूको अनुचित प्रलोभनको प्रभावमा परेर कम्पनी छाड्ने क्रम बढेको बताइएको छ ।

मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोर्ट एण्ड एक्स्पोर्टको एसडिएन विएचडी कम्पनी छाडेर भागेका तीन जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले खोजी गर्न स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ ।

कृष्णबहादुर बम्जन, अजबलाल राउत र कृति चौधरी नामका नेपाली कामदार कम्पनी छोडेर बेपत्ता भएपछि कम्पनी प्रतिनिधि प्रहरी चौकीमा गएको बताइएको छ । दुई वर्षदेखि कार्यरत उनीहरू सेप्टेम्बर महिनादेखि बेपत्ता भएका थिए ।

यस्तै कोरोना भाइरस सक्रमणबाट एकै कम्पनीमा कार्यरत दुई जना नेपाली श्रमिकहरुको ५ घण्टाको समयावधिको फरकमा मृत्यु भएको छ । दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटी कम्पनीमा कार्यरत प्रेम सिंह बडाल र हर्कबहादुर घलेको मृत्यु भएको हो ।