काठमाडौंमा घट्यो यस्तो डरलाग्दो घटना !

रामेछाप खबर संवाददाता

२० फागुन, काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शक्लाफाँटा नगरपालिका–२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् ।

पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका–६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए । प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ ।

यो पनि..प्रहरीको चेतावनी : भ्रामक क्याप्सन र भिडियो सार्वजनिक गर्नेलाई कारबाही

नेपाल प्रहरीको साइबर ब्यूरोले जथाभाबी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुठा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

‘यस्ता खाले भिडियो सामग्रीले समाजमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने, व्यक्तिको गोपनियता हनन गर्ने, पीडितको मानसिक स्वास्थ्यमा असर पर्ने जस्ता नकरात्मक असर पर्छ’, जारी विज्ञप्तिमा भनिएको छ। यदि जथाभावि प्रयोग गरेको पाइएमा गरेमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ।