यसकारण कतारले नेपालीलाई प्रहरीमा भर्ना नलिने

रामेछाप खबर संवाददाता

काठमाडौं, १ असोज ।

काठमाडौं । कतारले तत्काल नेपालीलाई प्रहरीमा भर्ना नलिने भएको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासलाई तत्कालको लागि भर्ना नलिइने जानकारी दिएको हो ।

कतारको यस्तो निर्णयपछि भर्ना हुन छनौट भएका दुईसय जना नेपाली जान नपाउने भएका छन् । दोहा नियोगका राजदूत नारदनाथ भारद्धाजले लामो समयसम्म नेपालले कुनैपनि जानकारी नदिएकाले कतारले अन्यत्रबाट आवश्यकता पूर्ति गर्ने जवाफ आफूले पाएको जनाए ।

म्यानपावर कम्पनी वा सरकारी च्यानल कुनमार्फत भर्ना छनौट गर्ने विषयमा विवाद भएको थियो । मागपत्र प्रमाणीकरण नभइकन म्यानपावर कम्पनीले अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो ।

छनौट भएका युवासँग कुनैपनि शुल्क लिन नपाइने सर्तको उल्लंघन गर्दै अल तौकेत ओभरसिज नेपालले ती दुईसय जनासँग झन्डै १४ करोड रकम संकलन गरेको थियो ।

विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठन एससीओको २१औँ बैठक ताजिकिस्तानको दुशांबेमा सुरु

काठमाडौं । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को २१औँ बैठक ताजिकिस्तानको दुशांबेमा सुरु भएको छ । बैठकमा सदस्य राष्ट्रहरूसँगै पर्यवेक्षक राष्ट्रहरूका विदेशमन्त्रीहरू एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ । बैठकको अध्यक्षता ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमानले गरेका छन् । एससीओमा इरानले नयाँ सदस्यता पाएको छ । यसअघि पर्यवेक्षको रूपमा रहेको थियो ।

सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरूले भर्चुअल सम्बोधन गर्ने गर्दै छन् । यसपटकको बैठक अफगान समस्यामा केन्द्रित हुन सक्ने बताइएको छ । यसका साथै संगठनको दुई दशकमा भए गरेका काम–कारबाहीको बारेमा समीक्षा हुने अपेक्षा गरिएको छ ।

भूगोल र जनसंख्याको हिसाबले विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठन सांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)मा चीन, भारत, पाकिस्तान, रुस, काजखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान गरी आठ सदस्य राष्ट्र थिए । इरानको प्रवेशसँगै एससीओमा नौ राष्ट्र भएका छन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसनमा अफगानिस्तान, बेलारुस, मंगोलिया पर्यवेक्षक राष्ट्र छन् भने नेपालसहित श्रीलंका, अर्मेनिया, अजरबैजान, कम्बोडिया र टर्की गरी ६ संवाद साझेदार राष्ट्रहरू रहेकामा यसपटक साउदी अरब, इजिप्ट र कतारले प्रवेश पाएका छन् । एजेन्सी