यदि तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

रामेछाप खबर संवाददाता

१९ फागुन, काठमाडौं ।

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ । आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वयुद्ध हुने/नहुने विषय रुसको नभइ पश्चिमा देशको व्यवहारमा भर पर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यदि रुसविरुद्ध पश्चिमाहरूले साँच्चै युद्ध चाहेको भए उनीहरूले आणविक हतियारसहितको तेस्रो विश्वयुद्धबारे पनि सोचेको हुन सक्ने उहाँको भनाइ छ ।

यो पनि..बेलायती गुप्तचर एजेन्सीले भन्यो, ‘किभतर्फ जाँदै गरेको रुसी सैन्य लस्करको गति सुस्त’

बेलायती सैन्य गुप्तचर एजेन्सीले युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको रुसी सैन्य लस्कर पछिल्लो तीन दिनमा केही टाढासम्म मात्रै अघि बढेको छ । यद्यपि, यो लस्कर निकै सुस्त गतिमा अघि बढिरहेको तर किभ र अन्य शहरमा रुसको हवाई हमला लगातार जारी छ । बेलायती सैन्य गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै यो रुसी सैन्य लस्कर राजधानीको उत्तर दिशातर्फ अघि बढिरहेको जानकारी दिइएको छ ।

हालको समयमा यो लस्कर राजधानीबाट लगभग ३० किलोमिटरको दुरीमा छ । रुसको लस्करमाथि युक्रेनको सेना र जनताले व्यापक विरोध गरिरहेका छन् । यद्यपि, रक्षा मन्त्रालयको खबरमा खारकिएभ, चेर्नेहिएव र मारियुपोल अहिले पनि युक्रेनकै नियन्त्रणमा छ । बेलायतका अनुसार रुसले आफ्ना सैनिक मारिएको र घाइतेको जुन आँकडा पेश गरिएको छ, वास्तवमा मारिएका र घाइतेको संख्या त्योभन्दा थुप्रै गुणा बढी छ ।