एमसीसी अनुमोदन गरेपछि प्रचण्डसँग किन रिसाए नारायणकाजी श्रेष्ठ ?

रामेछाप खबर संवाददाता

१८ फागुन, काठमाडौं ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् ।

एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले ५ दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् । एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चा समेत भइरहेको छ । अध्यक्ष प्रचण्ड मंगलवार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् ।

यो पनि : एमसीसी मुख्यालयले भन्यो- कार्यान्वयनपछि उर्जा, पूर्वाधार निर्माण र रोजगारीमा सहयोग

वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएसँगै अब यो कार्यान्वयनतर्फ अघि बढेको बताएको छ । एमसीसी मुख्यालयले विज्ञप्ति निकाल्दै एमसीसी कार्यानवयन पछि बिजुलीको भरपर्दो आपूर्ति, रोजगारी सिर्जना र पूर्वाधार विकासमा थप सहज हुने स्पष्ट पारेको हो ।

संसद‍्बाट अनुमोदन भएसँगै सम्झौता बमोजिमको काम अघि बढेको एमसीसी मुख्यालयले जनाएको छ । नेपालको उर्जा र यातायात क्षेत्रलाई थप आधुनिकीकरण बनाउन एमसीसी परियोजनाले मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपालले सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो ।

एमसीसीका कतिपय बुँदाहरु विवादास्पद भएको भन्दै सरकारले त्यसबारे व्याख्यात्मक घोषणा गरी फागुन १५ गते संसद्‍बाट अनुमोदन गरेको हो । व्याख्यात्मक घोषणाबारे एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया दिएको छैन । एमसीसी मुख्यालयले एमसीसी अब कार्यान्वयनको दिशामा गएको र त्यसले नेपालको उर्जा र पूर्वाधार निर्माणमा सहयोग पुग्ने दावी गरेको छ ।