न्युजिल्यान्डकी प्रधानमन्त्री एडर्नलाई कसले पठायो शंकास्पद वस्तु ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० भदौं ।

वेलिङटन । न्युजिल्यान्डमा प्रधानमन्त्री ज्याकिन्डा एडर्नलाई सेतो पाउडरयुक्त शंकास्पद प्याकेज पठाइएपछि आपत्कालीन सुरक्षा अपनाइएको छ । उनको अफिसको तल्लो तलामा उक्त वस्तु फेला पारिएको थियो । यसपछि एडर्नको नाममा आएको सो प्याकेजको जाँच गर्न तीन छुट्टाछुट्टै युनिटको विशेष टोली खटाइएको हो ।

दुई हप्ता अगाडि मात्र न्युजिल्यान्ड पुलिसले अकल्यान्ड सुपरमार्केटमा ६ जनामाथि चक्कु प्रहार गर्ने अपराधीलाई गोली हानेको थियो । त्यस्तै क्रिसचर्च विमानस्थलमा पनि अघिल्लो दिन नै बम भनेर खबर गरिएको एक शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्र खालि गर्नुपरेको थियो । पुलिसले सुरक्षित घोषणा नगरेसम्म त्यहाँ सम्पूर्ण आन्तरिक उडान रद्द गरिएको थियो ।

त्यसैले पनि सुरक्षालाई लिएर अहिले न्युजिल्यान्डमा देशैभरि विशेष सतर्कता अपनाइएको छ । सो रहस्यमयी प्याकेज भने प्रधानमन्त्री एडर्नकै नाममा आएको थियो तर त्यसमा के फेला पर्यो भनेर खुलासा गरिएको छैन ।
इन्डिपेन्डेन्ट