मलेसियामा हुने नेपाली श्रमिकहरुको लागि दुखद् खबर

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ भदौं ।

नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि कोरोना महामारीसँग जुधिरहेको छ । त्यहाँ दिनप्रतिदिन कोरोनाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मलेसियामा दैनिक २० हजार भन्दा बढी कोरोनाका संक्रमित थपिने गरेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ८० प्रतिशत कोरोनाको खोप लाउँदै नलाएका तथा पूर्ण मात्रा नलगाएकाहरु छन् । मलेसियाका स्वास्थ्य महानिर्देशक तान श्री नूर हिशामले नयाँ संक्रमितहरुमध्ये ९७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताउनुभएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म मलेसियामा १४ हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । मलेसियाले कोरोनाको उच्च जोखिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाटका उडान प्रतिबन्ध लगाएको छ । यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कूटनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरुले भने स्वास्थ्य मापदण्ड पालना गरि प्रवेश गर्न पाउँछन् ।

मलेसियामा अहिले कोरोना संक्रमणको दर हेरेर विभिन्न क्षेत्रअनुसार प्रतिबन्धमा कडाइ वा खुकुलो बनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

इन्डोनेसियाको जेलमा आगलागी : ४४ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।

बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ ।
अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ । सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ । आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।